FAQs Complain Problems

आ.व. ०७४/०७५ को लागि प्रथम नगर सभाबाट पारित योजना तथा नितिगत बक्तव्य

आदरणीय कीर्तिपुर नगरबासीहरु तथा पत्रकार मित्रहरु

२०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिको रुपमा प्राप्त नेपालको संविधानले प्रत्याभूत गरेको स्थानीय तहको गत बैसाख ३१ गते सम्पन्न निर्वाचनमा कीर्तिपुर नगरपालिकामा तपार्इँहरुको अमूल्य साथ सहयोग र समर्थनले नै हामीले निर्वाचित भएर आम कीर्तिपुरबासीहरुको सेवा गर्ने सुवर्ण अवसर प्राप्त गर्न सफल भएका छौं । सर्वप्रथम बैसाख ३१ गते सम्पन्न कीर्तिपुर नगरपालिकाको निर्वाचनमा हामीलाई निर्वाचित गर्नु हुने सम्पुर्ण नगरबासीहरु तथा सहयोग गर्नु हुने पत्रकार मित्रहरुमा नगरपालिका परिवारको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु ।

कीर्तिपुर नगरपालिकाको पहिलो नगर सभा यही असार २८ गते सम्पन्न भएको छ । नगर सभाको उद्घाटन असार २५ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।सीमित श्रोत र साधनबाट आम नगरबासीहरुको बिकास निर्माणको उत्कट चाहनालाई पुर्ति गर्नुपर्ने काम अवश्य पनि सानो चुनौती होइन ।

कीर्तिपुर नगरपालिकाको पहिलो नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रमहरु यस कार्यक्रम मार्फत आम जनसमुदाय समक्ष सार्वजनिक गर्न पाउँदा मलाई गौरवको अनुभूती भईरहको छ । सीमित बजेट र श्रोत साधनका बीच पनि नगरसभाले आम कीर्तिपुर नगरबासीको बिकास निर्माणको अधिक चाहनालाई पुर्ति गर्न अधिकतम प्रयत्न गरेको कुरा समेत आजको यो कार्यक्रम मार्फत अवगत गराउन चाहन्छु । नगरसभाद्वारा पारित बजेट नीति तथा कार्यक्रमहरुको सफल कार्यान्वयन आम नगरबासीहरुबीचको एकताबद्ध प्रयासले मात्र सम्भव हुने हुँदा समृद्ध कीर्तिपुर निर्माणको अभियानमा एकजुट भएर अघि बढ्नकालागि बुद्धिजीवि, पत्रकार, समाजसेवी लगायत सम्पूर्ण नगरबासीहरुमा हार्दिक अपिल समेत गर्दछु ।

अब म हालै सम्पन्न नगरसभाले कीर्तिपुर निर्माणका लागि एकमना एकताकासाथ एकै स्वरले पारित गरेकोनीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न चाहन्छु ।

  1. श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट प्राप्त कुल आयको प्रक्षेपण र बजेट सीमाका आधारमा यस बर्षको कुल बजेट रकम रु. ७९,५६,१४,०००।– विनियोजन गरेको छु । सो मध्ये चालु खर्च तर्फ रु.१२,६६,०५,०००।– र पूँजीगततर्फ रु. ५५,९५,९४,०००।– एवं शिक्षा, स्वास्थ्य तर्फको सशर्त खर्चतर्फ रु. १०,९४,१५,०००।– विनियोजित रहेको छ ।
  2. नगर र नगरवासीको समृद्धि एवं विकासमा अग्रणी भूमिका खेल्न सके मात्र स्थानीय तहको सरकारको रुपमा नगरपालिकाको सार्थकता साबित हुन सक्दछ । यसै तथ्यलाई हृदयंगम् गर्दै वडा स्तरिय योजना तथा कार्यक्रमका लागि रु. ५,४०,००,०००।– छुट्टयाइएको छ । सो रकमबाट वडास्तरमा छनौट भई प्राथमिकीकरण गरिएका योजना तथा कार्यक्रम संचालन गरिनेछ र यस सम्बन्धी कार्यविधि नगर कार्यपालिकाबाट स्वीकृत गरी यथाशीध्र कार्यान्वयनमा ल्याइनेछ । सकेसम्म सबै वडाहरुमा समानुपातिक एवं समन्यायिकरुपमा श्रोत वाँडफाँड गर्ने प्रयास गरेको छु ।
  3. कीर्तिपुरबासीहरुले भोग्दै आएको सर्वाधिक ठूला समस्याहरु मध्ये खानेपानीको समस्या रहेकोमा नगरपालिका पूर्ण जानकार र नगरवासीहरुको समस्याहरु प्रति संवेदनशील रहेको छ । यसै परिप्रेक्ष्यमा यस समस्याको दिगो समाधान गर्न आगामी आर्थिक बर्षको बजेटको ठूलो हिस्सा यस तर्फ विनियोजन गरेको छु । पानीको अभावलाई तत्कालै केही हदसम्म पूर्ति गर्नका लागि दोस्रो धारा वितरण परियोजना संचालनमा ल्याइनेछ ।
  4. समृद्धि एवं आत्म निर्भरता बिना न त स्थानीय सरकारको कुनै औचित्य साबित हुन सक्दछ न त कीर्तिपुरले सम्मान एवं विशिष्ट पहिचान नै प्राप्त गर्न सक्दछ । यस तथ्यलाई हृदयंगम गर्दै आगामी वर्षको बजेट तथा कार्यक्रम समृद्ध कीर्तिपुरको निर्माणमा केन्द्रित रहेको छ । समृद्ध कीर्तिपुर कार्यक्रम अन्तर्गत् नगर युवा स्वरोजगार कार्यक्रम, प्राविधिक शिक्षालयको स्थापना, क्ष्त् पार्क, प्रत्येक वडामा फ्रि वाइफाइ जोन लगायतका महत्वपूर्ण कार्यक्रमहरु संचालन गरिनेछ ।
  5. शिक्षा नै समाज विकासको आधार रहेको हो भन्ने मान्यतालाई हृदयंगम गरि कीर्तिपुरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य सहित नगर सभाले शिक्षा क्षेत्रलाई प्राथमिकताकासाथ अगाडि सारेको छ । शैक्षिक विकासबाट मात्र समृद्ध, सभ्य एवं सुसंस्कृत कीर्तिपुरको सपना साकार पार्न सकिन्छ । यसै सिलसिलामा सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किँदै गएको छ, जुन निकै चिन्ताजनक विषय भएकोले शैक्षिक गुणस्तर उकास्ने हेतुले सार्वजनिक विद्यालयहरुको समायोजन गर्ने कार्यक्रम राखिएको छ । साथै, समय सान्दर्भिक प्रतिस्पर्धात्मक शैक्षिक वातावरण एवं विद्याथीहरुलाई आवश्यक सूचनामा सरल एवं सहज पहुँच पुर्‍याउन यस नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई कम्प्युटर लगायतका सामाग्रीहरु उपलब्ध गराइनेछ । यसका लागि आगामी बर्षको बजेटमा आवश्यक रकमको व्यवस्था गरिएको छ ।
  6. गुणस्तरीय एवं व्यवस्थित सडक सुन्दर एवं समृद्ध नगरको पहिचान हो । सडकमा अनिमितरुपमा राखिएका निर्माण सामाग्री लगायतका अवरोधहरु, घरघरको छानाबाट डुँड निकाली सडक पेटी वा सार्वजनिक स्थलमा पानी खसाली सडकलाई क्षति पुर्‌याउने र सहरको सौन्दर्यता बिगार्ने कार्यलाई निरुत्साहित गरी दण्डनीय बनाइनेछ । यसै वर्ष यस नगरपालिकालाई सडक खाल्डाखुल्डी मुक्त बनाइनेछ । यसका लागि बजेटको व्यस्वस्था मिलाइएको छ ।
  7. अत्यावश्यकीय पूर्वाधार विकास, सामाजिक संघसंस्था, धार्मिक पुरातात्विक ऐतिहासिक स्थल, सामुदायिक विकास, आय आर्जन तथा सीपमूलक दक्षता अभिवृद्धि कार्यक्रम, महिला लक्षित कार्यक्रम, वालवालिका लक्षित कार्यक्रम, पिछडिएको समुदाय उत्थान, दलित, आदिवासी एवं फरक क्षमता भएका वर्ग, जनजातिहरुको उत्थान, जनशक्ति विकास कार्यक्रम लगायत नगरका प्रायः सबै क्षेत्र एवं समुदायलाई समेट्ने गरी बजेट तथा कार्यक्रम बनाउने प्रयास गरिएको छ ।  
  8. संविधानले लोक कल्याणकारी राज्यको अवधारणा अंगीकार गरेको छ । यसै सन्दर्भमा नगरवासीका वेदना र पीडामा नगरपालिका सँगसँगै रहेको छ । सीमित श्रोत साधनका बाबजुद अति विपन्न, असहाय एवं असमर्थ नगरवासीहरुका लागि आगामी आर्थिक बर्ष बजेटको व्यवस्था गरिएको छ । अब असहाय नगरवासीले औषधि उपचारको अभावमा अकालमा मृत्यु वरण गर्नु पर्ने अवस्थाको नगरपालिकाले अन्त्य गर्नेछ ।
  9. नगरभित्र रहेका स्वास्थ संस्थाहरुमा आवश्यक सुधार गरी तिनबाट दिइने सेवा सुविधाहरुलाई नियमित एवं प्रभावकारी बनाइनेछ । यस्ता संस्थाहरुको निरन्तर अनुगमन गर्ने व्यवस्था गर्नुका साथै स्वास्थकर्मीहरुलाई पर्याप्त तालीम दिइने व्यवस्था मिलाइनेछ ।  हरेक वडामा विस्तारित स्वास्थ्य सेवा र निःशूल्क  स्वास्थ्य शिविरहरु संचालन गरिनेछ । साथै, आर्थिक स्थिति कमजोर भएका कारण चिकित्सा शास्त्र अध्ययनबाट वञ्चित हुनु नपरोस् भनी यस नगर क्षेत्रभित्रका छात्रछात्राहरुका लागि शैक्षिक वृत्ति विकास अक्षय कोष स्थापना गरिनेछ । यसका लागि समेत आवश्यक बजेटको व्यवस्था गरिएको छ । साथै, आगामी आर्थिक बर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ ।
  10. कीर्तिपुर नगरपालिकालाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न तत्काल पर्यटन गुरु योजना निर्माण गरी अघि वढिनेछ । नगरपालिका क्षेत्रमा उपलव्ध ऐतिहासिक धार्मिक, साँस्कृतिक, प्राकृतिक पर्यटकीय आकर्षणहरुको प्रवद्र्धनका लागि पर्यटन संग सम्वद्ध नेपाल पर्यटन वोर्ड लगायतका सरकारी तथा निजी क्षेत्र संग समन्वय र सहकार्यलाई निरन्तरता दिईनेछ । कीर्तिपुर नगर क्षेत्रको पर्यटकीय भ्रमणमा आउने आगन्तुकहरुको लागि नगर क्षेत्र भित्रका सम्पूर्ण पर्यटकीय गन्तव्यहरु जस्तै उमामहेश्वर, वाघभैरव, चिलन्चो, अरनिको आर्ट ग्यालरी, वि.पि.प्लानेटोरियम, विभिन्न विहार तथा गुम्वाहरु, विष्णुदेवी, चोभार आनन्दाधि लोकेश्वर (आदीनाथ), जलविनायक, चोभार गल्छी, टौदह, चम्पादेवी लगायतका स्थानहरुमा एउटै सवारी साधन मार्फत भ्रमण गर्ने व्यवस्था मिलाईनेछ । साथै त्यसका लागि उपत्यका भित्र तथा वाहिरका मुख्य पर्यटकीय गन्तव्य संग सम्वन्धित संघ, संस्था, निकाय एवं सम्वन्धित स्थानीय तह संग समेत आवश्यक पहल गरिनेछ ।
  11. २०७२ सालमा गएको विनाशकारी भूकम्प पश्चात् समयमा नै पूर्वाधार निर्माण टड्कारो आवश्यकताको रुपमा खड्किएको छ । भूकम्प पीडितहरु अझै पनि पाल र टहरामा कठिन रुपमा जीवन व्यतीत गरिरहेको अवस्था छ, जुन हामी सबैका लागि चिन्ताको विषय हो । यसै तथ्यलाई मध्यनजर गर्दै भूकम्प पीडितहरु मध्ये विपन्न परिवारहरुको घर निर्माणका लागि वस्तुगत अनुदानको व्यवस्था गरिएको छ । यसबाट पीडित परिवारहरुलाई केही मात्रामा भए पनि राहत पुग्ने अपेक्षा गरेको छु ।
  12. राष्ट्रिय स्तरका समस्याहरुमा गरीबी सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको छ । अझै शहरी गरीबी झनै ठूलो समस्या रहेको छ । शहरमा सक्षम र धनीहरु मात्र छैनन्, असहाय र गरीबहरु पनि उत्तिकै छन् । कीर्तिपुर पनि यस समस्याबाट अछुतो छैन । यसै सन्दर्भमा नगर क्षेत्रका रहेका अति विपन्न पचास परिवारलाई लक्षित गरी अति विपन्न परिवार उत्थान कार्यक्रम संचालन गरिनेछ ।
  13.  नगर क्षेत्रको वातवरण संरक्षण गर्न सडकका दायाँ बायाँ र सार्वजनिक स्थलहरुमा वृक्षारोपणका साथै वातावरण मैत्री कार्यक्रमहरु विभिन्न संघ संस्था, नगरवासी तथा अन्य दातृ निकायहरुसंग समेतको सहकार्यमा अघि बढाइनेछ । यस कार्यमा यस नगर क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहहरुलाई परिचालित गरिनेछ ।
  14. नगरको धार्मिक, ऐतिहासिक, पुरातात्विक एवं प्रचीन कला, संस्कृति, जात्रा, चाडपर्व, बाजगाजा र रहनसहनको संरक्षण, सम्र्बद्धन एवं प्रबद्र्धनमा विशेष जोड दिइएको छ । यसै नीति अनुरुप नगरभित्र प्रचलित विभिन्न परम्परागत जात्रा, चाड, पर्व लगायतका लागि  नगरपालिकाले पर्याप्त बजेट व्यवस्था गरेको छ । बहा, बही, चोक, ननी, मठमन्दिर तथा अन्य सम्पदाहरुको संरक्षण कार्यक्रम कार्यान्वयन गरिनेछ ।
  15. खेलकूदको माध्यमबाट स्वस्थ्य नगरवासी र नगरको विकास गर्ने नीति लिइनेछ । आगामी बर्ष खेलकूद पूर्वाधार निर्माण, प्रतियोगिता संचालन र खेलकूद प्रबद्र्धनका विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
  16. करको दर बढाउनु भन्दा पनि यसको दायरा फराकिलो पारी आय बृद्धि गर्ने नीति लिई घरदैलोमा कर्मचारी परिचालन गरी कर संकलन गर्ने कार्यलाई व्यापकता दिइनेछ । यसबाट नगरपालिकाको हालको आयमा उल्लेख्य बृद्धि हुने अपेक्षा गरिएको छ । यशाशीध्र वैज्ञानिक कर प्रणाली लागू गरिनेछ ।
  17. नगरपालिकाको नक्सा सम्बन्धी सेवा प्रवाह छिटोछरितो, प्रभावकारी बनाउनुका साथै भवन संहिता एवं भवन तथा बाटो सम्वन्धी मापदण्ड कडाईका साथ लागू गरिनेछ । नगरपालिका क्षेत्रभित्र मापदण्ड विपरीत निर्मित संरचनाहरुको नियमित अनुगमनको व्यवस्था मिलाई कानून बमोजिम कडा कारवाही गर्ने व्यवस्था गरिनेछ । ट्राफिक व्यवस्थापन र आवागमन सहज बनाउन आवश्यक देखिएको स्थानमा क्रमशः सडक विस्तार गर्ने नीति लिइनेछ । पर्ती, सरकारी एवं सार्वजनिक जग्गा र सम्पत्तिहरुको संरक्षण कार्यमा तीब्रता ल्याइनेछ । सार्वजनिक सम्पत्तिको अतिक्रमणलाई दण्डित गरिनेछ । नगरपालिकाको आदेश अटेर गर्ने, नगरपालिकाको निर्णय नमान्ने, तोकिएको राजश्व, शुल्क, जरिवाना नबुझाउनेहरुलाई नगरपालिकावाट उपलव्ध गराउने सेवा, सुविधा रोक्का गर्ने गरी कालो सूचिमा राखिनेछ ।
  18. नगरपालिकाको फोहरमैला व्यवस्थापन निजी क्षेत्रको सहभागीतामा प्रभावकारी बनाइनेछ । फोहरमैलालाई श्रोतमै वर्गीकरण गरी तदनुरुप संकलन एवं विसर्जन कार्यलाई व्यवस्थित गरिनेछ । ढल र ढल निकास व्यवस्थित गरिनेछ । यसका लागि विस्तृत संभाव्यता अध्ययन कार्यका आधारमा कार्यान्वयन गरिनेछ । 
  19. नगर कार्यपालिकाको कार्यालयमा सेवाग्राहीहरुलाई सरल, सहज एवं समयबद्ध सेवा प्रदान गर्ने कार्यलाई उच्च प्राथमिकता दिंदै यथासंभव सवै किसिमका कार्यहरुमा अनलाइन सेवा संचालन गरिनेछ । कार्यालयका विभिन्न शाखामा आवश्यक व्यवस्थापकीय सुधार कार्य गरीनेछ । शाखा प्रमुखहरु एवं कार्यरत कर्मचारीहरुलाई समयमा नै काम सम्पन्न गर्ने गरी जिम्मेवार एवं उत्तरदायी बनाइनेछ । उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुको उचित मूल्यांकन गरी पुरस्कृत गर्ने नीति लिइनेछ । कार्यरत कर्मचारीलाई समयको माग बमोजिम अद्यावधिक, दक्ष, प्रविधि एवं सेवाग्राहीमैत्री बनाउनुका साथै कार्यालयको आन्तरिक कार्यविधि बनाई यथाशीध्र लागू गरिनेछ ।
  20. समयमा नै संतोषजनक योजना सम्पन्न गर्ने सुनिश्चिता गरिनेछ । नगरपालिकाको योजना प्रणालीलाई जिम्मेवार र उत्तरदायी बनाइनेछ । नगर भित्र गुणस्तरीय भौतिक पूर्वाधार विकासका लागि उपयुक्त नीति निर्माण गरी बाह्य लगानी प्रोत्साहित गरिनेछ ।
  21. नगर भित्रका घरहरुको व्यवस्थित अभिलेख र वैज्ञानिक व्यवस्थापन गर्न आगामी वर्षदेखि मेट्रिक प्रणाली लागु गरिनेछ । साथै नगरको जिआईएस नक्सांकन गरिनेछ ।
  22. नगरकार्यपालिकावाट प्रदान भईरहेका अधिकांश सेवा अनलाईन प्रणालीमा उपलव्ध हुँदै आएको र वाँकी सेवाहरु पनि क्रमशः अनलाईन प्रणालीमा लाने तयारी भई रहेको सन्दर्भमा नगर कार्यपालिकाको कार्यालयमा एक व्यवस्थित, पूर्वाधार सम्पन्न आईटी तथा जिआईएस इकाईको स्थापना गरिनेछ ।
  23. न्यायिक समिति

    कीर्तिपुर नगरपालिकाका उपप्रमुख श्र सरस्वती खड्काको संयोजकत्वमा कार्यपालिका सदस्य श्री सुनिता नकर्मी र नगर सदस्य श्री मिलन महर्जन रहनु भएको तीन सदस्यीय न्यायिक समिति गठन गरिएको छ ।

  24. कीर्तिपुर नगर विकास परिषद

    कीर्तिपुर एकिकृत विकास योजनालाई ध्यानमा राखी अल्पकालीन मध्यकालीन र दिर्घकालीन योजनाको अवधारणमा रही विभिन्न अत्यावश्यक महत्वपूर्ण योजनाहरुको पहिचान संभाव्यता अध्ययन तथा अनुमानित लागत एवम आवश्यक निर्माण पक्रियाहरु सहितको सल्लाह, सुझाव एवम समन्वयका लागि विभिन्न क्षेत्रका विशेषज्ञ सामाजिक क्षेत्रका पतिष्ठित व्यक्तिहरुलाई समावेश गरी भूतपूर्व नगर पमुख श्री हिराकाजी महर्जनको संयोजकत्वमा १३ सदस्यीय कीर्तिपुर नगर विकास परिषद गठन गरिएको छ ।

  25. नगर विकास पूर्वाधार कम्पनि

    कीर्तिपुर नगर क्षेत्रमा विकास निर्माणको कामलाई योजनावद्ध, दिगो, भरपर्दो र प्रभावकारी बनाउनका लागि नगर विकास पूर्वाधार कम्पनि गठन गरिएको छ ।

    धन्यवाद ।

     

Supporting Documents: