संक्षिप्त परिचय

कीर्तिपुर नेपालको इतिहासमा एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको एेतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते नगरपालिका एेन २०५३ अनुसार गठन भएको हो। मल्ल कालदेखि नै कला र संस्कृतिबाट धनी हुँदै आएको यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

कीर्तिपुर शहर व्यावसायिक रुपले भन्ने हो भने विभिन्न औद्योगिक कलकारखानाको साथै बजारको व्यवस्था, खानेपानी, विजुली, टेलिफोन साथै शिक्षण संस्था नेपाल कै सबै भन्दा पुरानो त्रिभुवन विश्व विद्यालय कीर्तिपुर शहरमा पर्दछ । कीर्तिपुर शहरको उत्तरमा काठमाडौं महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वागमती नदी, पश्चिममा चन्द्रागिरी नगरपालिका पर्दछ । यस कीर्तिपुर नगरपालिकाको कूल क्षेत्रफल १४.७६ वर्ग कि.मी. छ भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कीर्तिपुरको कूल जनसंख्या ६५६०२ जना छन् भने जसमा पुरुषको संख्या ३६४७६ (५५.५० प्रतिशत) र महिलाको संख्या २९१२६ जना (४४.५० प्रतिशत) रहेको छ । कीर्तिपुर शहरमा कीर्तिपुर लगायत पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँ बजार र भत्क्यापाटी समेत प्रमुख स्थान रहेको छ । यस शहरको अधिकांश भाग कृषि क्षेत्र र जंगलले ढाकेको छ । यस नगरमा सडक तथा गल्लीहरुको स्थितिका बारेमा भन्ने हो भने उल्लेखनिय विकास भएको पाईदैन । जसमा कालो पत्रे सडक ३५ कि.मी., ग्राभेल सडक ४० कि.मि., कच्ची सडक ३५ कि.मी. रहेको छ । कीर्तिपुर नगरपालिकाले काठमाण्डौ रिङ्गरोडलाई उत्तर पट्टी छाएको छ भने दक्षिणकाली जानेमा एक किलोमिटर भन्दा पनि कम फरकमा रहेको छ । रिङ्ग रोडमा यस शहरमा अनेक जान जाती, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण रहेको छ । यहाँका बासिन्दा सबै भन्दा बढि कृषि पेशामा निर्भर रहेको देखिएता पनि अधिकाँश ज्याला मजदूरी गरी जिविकोपार्जन गर्ने गरेको पाईन्छ । यस कीर्तिपुर शहरको शैशिक स्तर मूल्याँकन गरी हेर्दा ग्रामिण क्षेत्रमा न्यून रहेको पाईन्छ र औसतको आधारमा कीर्तिपुरमा साक्षरता ८० प्रतिशत देखिन्छ ।